फास्ट ट्र्याक निर्माणका लागि राखिएका फलामका सामान चोर्ने ४ जना पक्राउ

मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्ट ट्र्याक निर्माणका लागि राखिएका फलामका सामानहरू चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर विक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अविरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेका मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फलामको सामनहरू १२÷१३ क्विन्टल बराबरको रहेको छ। फलामको सामनहरू चोरी गरी ना ५ ख १४४३ नम्बरको जीपमा लिएर जाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोस्ट जितपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

समान बोकेको जीपलाई अगाडि बाटो देखाउँदै हिँड्दै गरेको बा ५५ च ८५०२ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जीप, मोटरसाइकल नियन्त्रणमा लिएको र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।

Share your love