फरार अभियुक्त र प्रतिवादीलाई धमाधम पक्राउ गर्दै पर्सा प्रहरी

विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहँदै आएका प्रतिवादीहरूलाई पर्सा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।

प्रहरीले माघमा फरार अभियुक्त र प्रतिवादी पक्राउ अभियान नै चलाएर उनीहरूलाई पक्राउ गर्न थालेको हो।

अभियान चलाइएपछि माघमा फरार अभियुक्त र प्रतिवादीको पक्राउ संख्यामा पनि वृद्धि भएको छ। पर्सा प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार माघमा प्रहरीले विभिन्न किसिमका अपराधमा संलग्न भई फरार रहँदै आएका १ सय ९१ जना अभियुक्त र अदालतबाट सजाय पाएर फरार रहँदै आएका १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

पुसमा ३५ जना फरार प्रतिवादी र ८ जना अभियुक्त पक्राउ परेका थिए। माघमा पक्राउ परेका अभियुक्त र प्रतिवादीसित १८ वर्ष १० महिना २० दिन कैद र चार लाख १४ हजार २ सय ६८ रुपैयाँ जरिवाना असुलउपर गरिएको पर्सा प्रहरीले जनाएको छ। माघमा अभियान नै चलाएर फरार रहेका अभियुक्त र प्रतिवादीलाई पक्राउ गरिएकाले यस्ता अभियुक्त र प्रतिवादी पक्राउ संख्या बढेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले फरार अभियुक्त र प्रतिवादी पक्राउ अभियान अहिले पनि जारी रहेको बताए। ‘हामीले माघमा केही समय अन्य काम छाडेर फरार अभियुक्त र प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएर समातेका थियाँै। यो अभियान अहिले पनि जारी छ,’ उनले भने।

Share your love