राष्ट्रपतिमा पौडेलको जित निश्चित भइसक्योः प्रकाश ज्वाला

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दाबी गरेका छन्। प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित भइसकेको तर्क गरे।

उनले भने, ‘आठ दलले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौँ। त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ। त्यो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारले जित्ने पनि निश्चित छ।’

शनिबार राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकताबद्ध भएको उल्लेख गर्दै नेकपा एमाले भने एक्लिएको बताए।

उनले आठ दलहरुबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने बताए। प्रमुख सचेतक ज्वालाले ८ राजनीतिक दलहरुबीचको एकता र संकल्पले मुलुकको राजनीतिकमा स्थिरता ल्याउने र समृद्धिको अभियानलाई तीव्रता दिन सकिने बताए।

Share your love