प्रहरी हवल्दार प्रकाशको बयान – नियतवश गोली चलाएको होइन
माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए । ‘दुर्घटनावश गोली चलेको हो’, उनले भनाइ उदृत गर्दै ती प्रहरी अधिकृतले भने ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताए ।
पक्राउ परेपछि गरिएको सोधपुछका क्रममा उनले दुर्घटनावश गोली पड्किएको दाबी गरेका छन् । तर, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने उनले किन लोडेड हतियार त्यसरी बोकेका थिए भन्ने खुलेको छैन ।
‘लोडेड पेस्तोल त्यसरी बोकेर पारिवारिक जमघटमा जानुमा गम्भीर लापरबाही देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले गोली चलाउनु पछाडिको अरु कारण देखाएको छैन ।’
हवल्दार प्रकाशले नेता पुनको आमालाई हजुरआमा भन्दै सम्बोधन गर्थे । पुनका भाइका साथीसमेत हुन्, उनी । रोल्पामा उनी छिमेकी समेत भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसैले उनको नेता पुनकी आमा बसेको घरमा आउजाउ भइराख्थ्यो ।
‘नियत थियो थिएन अर्को पाटो हो, प्रहरीको हतियारबाट त्यसरी गोली चल्नु नै गम्भीर हो’, एक प्रहरी उच्च अधिकृत भन्छन्, ‘छानबिन समिति गठन गरेर यस विषयमा विस्तृत अनुसन्धान हुन्छ ।’