प्रहरीको सेवा प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आइतवार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री खाणले तालिमका बेला बगाएको पसिनाले आउने दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाणले कानुनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्दशनसमेत दिनुभयो ।

उहाँले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभुति दिन प्रहरी जवानहरुलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री खाणले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तालिमका बेला तपाईँहरुले बगाउनु भएको पसिनाले भोलिका दिनमा फिल्डमा देखिने हरेक समस्या र चुनौतीहरुको समाधानमा सफल हुनुहुनेछ । तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु । नेपाल प्रहरीका तालिम आवश्यक्ता अनुरुप बजेट विनियोजन हुँदै आएको छ । चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महसुस गरे त्यसमा नेपाल सरकार र गृहमन्त्रालय सकारात्मक छ ।’

गृहमन्त्री खाणले अबका दिनमा आउने विभिन्न चुनौतीलाई समाधान गर्न सक्षम बन्ने हरेक कार्यक्रमका लागि सरकार नेपाल प्रहरीको सहयोगमा हुने विश्वास व्यक्त गर्नुभयो ।

Share your love