आउँदो चुनावका लागि झण्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि आवश्यक मतपत्रमध्ये झण्डै ७० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ ।

प्रत्यक्ष निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा प्रत्यक्ष प्रणाली दुवै गरी कुल संख्याको झण्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रत्यक्ष प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको झण्डै चार करोड मतपत्र यसअघि नै छपाइ सम्पन्न भइसकेको छ ।

आयोगको पछिल्लो तथ्याङ्क अनुसार चुनावमा एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ ।

यस अनुसार आउँदो चुनावका लागि आठ करोड मतपत्र आवश्यक पर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।

अब ९ वटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएका मध्ये प्रदेश सभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ ।

अब प्रदेश सभाको ५ लाख ६८ हजार तथा प्रतिनिधि सभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।

Share your love