प्रधानमन्त्री प्रचण्डको ‘मिति’ को प्रतीक्षामा भारत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो औपचारिक भ्रमणको रूपमा भारत जाने तय पनि हालसम्म भ्रमणको मिति भने तय हुन सकेको छैन । भारतले प्रधानमन्त्री प्रचण्डलाई स्वागतको तयारी थालिसकेको छ । प्रधानमन्त्री प्रचण्डले पनि भारतको भ्रमण चाँडै गर्ने भनेर खबर पठाए पनि मिति भने भनेका छैनन् । अहिले भारत सोही मितिको पर्खाइमा रहेको छ ।

 बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिनुका साथै प्रदेशमा सरकारको समीकरण मिलाएर मात्र भारतको भ्रमणमा जाने खबर पठाएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएको छ । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिनेछन् । विश्वासको मत लिइसकेपछि केन्द्रमा सरकार विस्तार गर्नुका साथै प्रदेशहरूमा सत्ता समीकरण मिलाउने प्रचण्डको योजना रहेको छ ।

त्यसअघि भ्रमणका लागि सबै तयारी पुरा गर्ने काम अगाडि बढेको छ । भ्रमणबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले यसबारे होमवर्क गरिरहेको छ । ‘यसपटकको भारत भ्रमणमा कुनै नयाँ एजेण्डा तथा विषयमा छलफल हुने छैन,’ दूतावासको ती अधिकारीले भने, ‘केही जल विद्युत् आयोजनाहरूको सम्झौतामा भने हस्ताक्षर हुनसक्छ । त्यसको बारेमा अध्ययन भइरहेको छ ।’ कृषि, शिक्षा, स्वास्थ्यलगायतको विषयमा छलफल हुने बताउँदै ती अधिकारीले नयाँ र खास महत्त्वको कुनै सम्झौता नहुने बताए ।

अप्रिलको दोस्रो अथवा तेस्रो हप्तामा भ्रमण हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यका अनुसार भारत भ्रमण जाने लगभग निश्चित भएको छ, तर यहाँ केही राजनीतिक ‘सेटल’ गरेर मात्र जान्छन् । भ्रमणको आन्तरिक तयारीहरू भइरहेको छ । विश्वासको मत लिइसकेपछि भ्रमणमा जाने एउटा वातावरण बन्छ त्यसपछि मिति तय हुने ती सदस्यले बताए ।

Share your love