प्रचण्डले देशलाई अस्थिरताको बाटोमा धकेले : गोकर्ण विष्ट
नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको बाटोमा धकेलेको आरोप लगाएका छन् । शनिवार हेटौंडा प्रेस चौतारी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलजनमा बोल्दै सचिव विष्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रचण्डले एमालेसँग गरेको सहमति २ महिना पनि नपुग्दै तोडेर देशमा अस्थिरता निम्त्याउन खोजेको बताए ।
एमालेलाई कमजोर बनाउनका लागि बाहिरी शक्तिको आडमा कसैले अराएको र सिकाएकै भरमा पछिल्लो समयमा माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका पार्टीको सत्ता समीकरण बनेको सचिव विष्टले बताए । यस किसिमका कदमले प्रधानमन्त्री स्वयम्लाई समस्या पर्ने उनको भनाई छ । ‘देशी विदेशी शक्ति केन्द्रहरुको स्वार्थमा कसैले सिकाएको, अह्राएको भरमा यो सत्ता समीकरण बनेको छ । यसले बाहिरी शक्तिलाई सेवा पुर्याउने गरि काम गरेका छन् । प्रधानमन्त्री प्रचण्डका यस किसिमका कदमले स्वयं आफैंले थापेको पासो सावित हुनेछ’ उनले भने ।
राष्ट्रपति र उपराष्ट्रपति चुनावबाट एमाले नअतालिएको उनले बताए । आगामी दिनमा एमालेले जनताका मुद्दा संसदभित्र र संसद बाहिरबाट उठाउने उनको भनाई छ । सचिव विष्टले प्रदेशको शक्ति सन्तुलन अनुसार नै प्रदेश सरकारको समीकरण हुने बताए । उनले एमाले केन्द्र सरकारबाट बाहिरिए पनि तत्काल प्रदेश सरकारहरुबाट नबाहिरिने संकेत गरे । केन्द्रमा जस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा नरहेकोले सरकारबाट एमाले बाहिरिहाल्नु पर्ने अवस्था नरहेको उनले बताए ।
‘प्रदेशको शक्ति सन्तुलनको आधारमा नै सरकार समिकरण बन्छ । प्रदेशको शक्ति सन्तुलनको अवस्था केन्द्रको भन्दा फरका छ । केन्द्रमा जस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा त्यस्तै अवस्था छैन । सबै प्रदेशहरुको वस्तुगत अवस्थामा आधारित भएर परिस्थितिले जे माग गर्नेछ त्यसै अनुसार एमालेले निर्णय गर्नेछ’ उनले भने ।
एमाले सचिव विष्टले सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटाएको प्रति असन्तुष्टि व्यक्त गरे । सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेर किसानलाई मारमा पारेको भन्दै किसानको उत्पादनको लागत बढाएर देशमा परनिर्भर बनाउन खोजेको आरोप लगाए । किसानले प्राप्त गरिरहेको सुविधा कटौती गरेर सरकार किसान र गरिखानेको पक्षमा नरहेको पुष्टि गरेको उनको भनाई छ ।