प्रधानमन्त्री देउवाले आज पनि दुई चुनावी सभालाई सम्बोधन गर्ने

चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहनु भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँले आइतबार बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा हुनुहुन्छ ।

उहाँले बिहीबार अमरगढी, शुक्रबार नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका–२ बडाल तथा शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वार गाउँपालिका रुपालको चुनावी सभालाई सम्बोधन गरिसक्नुभएको छ ।

देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

Share your love