प्रदेश सभा सदस्य जैसवाल संग पर्सा राष्ट्रिय निकुञ्जले बयान लियो

पर्सा राष्ट्रिय निकुञ्जका अनुसन्धान अधिकारीहरूले जरायो मारेको आरोप लागेका प्रदेशसभा सदस्य प्रमोद जयसवालसँग मङ्गलबार बयान लिएका छन् । सोही घटनाको आरोपमा गाउँपालिका पूर्वअध्यक्ष प्रदीप जयसवालको बयान लिन बाँकी रहेको आरक्ष कार्यालय आधाभार बाराका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए ।

प्रमोद ४ मंसिरको चुनावमा पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । निकुञ्जको टोलीले जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोलीगठ्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो ।

४ पुस राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित आरक्षको कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँचजनालाई पक्रेको थियो । भागेका सिकारीलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मार्दा सिकारमा प्रयोग हुने थप सामग्री बरामद गरेको थियो ।

सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन सिकारमा संलग्न रहेको आरोपमा पाँचजनासहित दुईवटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो ।

अनुसन्धानका लागि काठमाडौं क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा कांग्रेस नेता श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ । खड्काको नाममा रहेको बन्दुक सिकारीको टोलीबाट बरामद भएपछि उनलाई पनि अनुसन्धानका लागि बोलाइएको हो ।

काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुवनियामा माछापोखरी छ । उनी अझैसम्म पनि बयानका लागि उपस्थित नभएको सूचना अधिकारी खड्काले जानकारी दिए । खड्काले मङ्गलबार एक विज्ञप्ति जारी गरी सो घटनामा आफ्नो कुनै संलग्नता नभएको जानकारी गराएका छन् । सो घटना हुँदा आफू काठमाडौँमै रहेको र सिकारमा प्रयोग गरेको बन्दुक आफ्नै लाइसेन्स प्राप्त भएको तर त्यो कसरी त्यहाँ पुग्यो भन्ने विषय अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

Share your love