प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण : ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि

प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने भएको छ । भोलि दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शम्शेर जबराले शपथ ग्रहण गर्ने तयारी छ ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमवार पठाएको थियो ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ गराउने तयारी सचिवालयले गर्नेछ ।  अन्य प्रतिनिधि सभाका सदस्यको शपथ ग्रहण भने पर्सि दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ ।

शपथ ग्रहण भाग लिने सांसदहरूले बिहान ११ बजे नै निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता र पासपोर्ट साइजका दुई वटा तस्बिर लिएर सम्मेलन केन्द्र पुग्नुपर्ने छ । साथै राष्ट्रिय पोसाक र आ–आफ्नो सांस्कृतिक पहिचान पोसाकमा आउन सांसदहरूलाई आग्रह गरिएको छ ।

आफ्नै मातृ भाषामा शपथ लिन चाहने सांसदले शपथकाे ब्यहोरा आफ्नो भाषामा अनुवाद गरेर लिएर जानुपर्ने छ । प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरी कुल २७५ सदस्य  छन्। ज्येष्ठ सदस्यलाई  सभामुख पदमा निर्वाचित नभएसम्म सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहन्छ ।

 

Share your love