प्रचण्ड र माधव नेपाल देउवाकाेमा कमलरी बस्न गए : भट्टराई

रामेछाप – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा कमलरी बस्न गएको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल रामेछापले आइतवार रामेछापको सदरमुकाम मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

नेता भट्टराईले गठबन्धनको सरकारले नागरिकता विधेयक संसदमा लगेर राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गुमाएको बताउनुभयो ।

सरकारले नागरिकता विधेयक संसदमा छलफल नै नगरि राष्ट्रपतिको स्वीकृतका लागि पठाएकोमा राष्ट्रपतिले स्वीकृत नगरि पुनः संसदमा नै फिर्ता पठाउँदासमेत जस्ताको तस्तै फेरि पास गरेर राष्ट्रघाती काम गरेको उहाँको आरोप छ ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले आउँदो चुनावमा एमालेले बहुमतको सरकार बनाउने दाबी गर्दै वर्तमान सरकारले पास गरेको नागरिकता विधेयक संशोधन गरेर अघि बढ्ने बताउनुभयो ।

त्यस्तै वैवाहिक अङ्गीकृत नागरिकलाई विना सर्त नागरिकता दिने प्रावधान विश्वका कुनै पनि देशमा नभएको उहाँले बताउनुभयो । अहिलेको गठबन्धन सरकारले देशलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको सचिव भट्टराईको जिकिर छ ।

 

Share your love