भरतपुरको मुहार फेर्न दिन–रात खटिरहेका छौँ : रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र ९दिन–रात० खटिरहेको बताउनुभएको छ । आइतवार भरतपुर १७ मा रहेको धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको नागरिकको मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो ।

मेयर दाहालले विगत पाँच वर्षमा पूरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै नागरिकको इच्छा र चाहनालाई सम्बोधन गर्दै अबको पाँच वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भरतपुरलाई नेपालकै नमुना महानगरका रूपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सु–संस्कृति सहरका रूपमा परिचित हुने क्रममा रहेको उहाँको भनाइ थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुदाँ देशभरबाट हेर्न आउने सहर बन्ने मेयर दाहालले बताउनुभयो ।

‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ’, उहाँले भन्नुभयो, ‘जनताको हेरक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरवासीको इच्छा र चाहानाअनुसार विकासको कामलाई अगाडि बढाएको छौँ । धेरै काम गर्न बाँकी छ । पाँच वर्षमा धेरै काम गर्न सकिन्छ ।’

सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब नागरिकलाई कसरी खुसी बनाउन सकिन्छ भन्नेतर्फ महानगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर दाहालको भनाइ थियो । सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रवर्द्धन गर्ने नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।

महानगरपालिकाले प्राथमिकताका आधारमा सबै क्षेत्रलाई हरेक वर्ष बजेट विनियोजन गरी विकासको कामलाई अगाडि लैजाने गरेको मेयर दाहालले बताउनुभयो । भरतपुरमा निर्माणधीन योजनामा जनस्तरबाट अनुगमन गर्ने, खबरदारी गरी समयमै काम सम्पन्न गराउन स्थानीयवासीले भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा थियो ।

Share your love