पार्टीले श्रमिकको मुद्दालाई सम्बोधन गर्न नसकेको ट्रेड युनियन कांग्रेस मोरङको गुनासो

राजनीतिक दलहरूले श्रमिकको मुद्दालाई गम्भीरतापूर्वक लिन नसकेको आरोप दक्षिण एशियाली क्षेत्रीय ट्रेड युनियन परिषद् सार्कटुकका महासचिव लक्ष्मणबहादुर बस्नेतले बताएका छन्।

सोमबार विराटनगरमा आयोजित नेपाल ट्रेड यूनियन कांग्रेस मोरङको ७ औ‍ँ अधिवेशनको उद्घाटनमा सार्कटुकका महासचिव बस्नेतले श्रमिकको जीवनस्तर उकास्नका लागि राज्यनै अवरोध गर्दै आएको बताए।

राज्यले श्रमिकलाई निर्णय तहमा पुर्याउनका लागि नचाहिरहेको बताएका महासचिव बस्नेतले दलहरूनै श्रमिकको मुद्धामा उदासिन रहँदा समस्या यथावत् रहँदै आएको उल्लेख गरे। उनले भने, ‘श्रमिकलाई निर्णय गर्ने स्थानमा पुराउन पार्टीहरु नै लागि परेकाछन्। यसबारे श्रमिकले नै आवाज उठाउन आवश्यक छ। प्रतिनिधि रूपमा राज्यको निर्णय गर्नेस्थानमा पुगिरहँदा श्रमिकको जीवनस्तर उकास्न सकिन्छ।’

‘विगतको २४ वर्षमा श्रमिक पक्षमा सामाजिक सुरक्षा कोष निर्माण भयो’ उनले भने,’सरकार श्रमिकको पक्षमा कति गम्भीर रहेको छ, प्रस्ट देखिन्छ। कोषबाट धेरै फाइदा लिन सकिन्छ। कोषबाट स्वास्थ्य, शिक्षा लगायतमा सहजता पाइन्छ।’

कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले विभिन्न कालखण्डमा राज्यले श्रमिकलाई प्रयोग मात्र गर्दै आएको आरोप लगाए। श्रमिकको मुद्धा र समस्यालाई राज्यले हेर्न नसकेको बताएका उपाध्यक्ष राईले मुलुकमा अनौपचारिक क्षेत्रका श्रमिकलाई समेटन् राज्य गम्भीर नभएको आरोप लगाए। राजनीतिक दलहरुले श्रमिक र श्रमिकका मुद्धालाई उपेक्षा गर्दै आएको बताएका राईले दलहरुले लामो इतिहास बोकेको श्रमिक आन्दोलनलाई न्याय गर्न नसकेको गुनासो गरे।

उनले भने,’श्रमिकले दलहरुलाई हरेक आन्दोलनमा साथ दिएकाछन्। शहादत प्राप्त गरेका छन्। तर, राज्य ती आन्दोलनमा सहभागि श्रमिकको मुद्धामा भने मौनता साँधेर बसेको छ।’

कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले श्रमिकलाई दलहरुले प्रयोग गरेको आरोप लगाए। ट्रेड यूनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा काँग्रेसका नेताहरुलाई प्रतिकात्मक विरोध गर्दै निमन्त्रणा नगरिएको बताए।

विराटनगरमा कांग्रेसका महानगर, क्षेत्रिय, जिल्ला, प्रदेश, प्रदेश सभा सदस्य, केन्द्रीय सदस्यको उपस्थिती बाक्लो रहेपनि ट्रेड यूनियनकै कार्यक्रममा उनीहरूलाई निम्ता नगरिएको अध्यक्ष कोइरालाले जानकारी दिए। कार्यक्रम १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजना गरिएको हो।

Share your love