नेपाल–यूएईकाे खेल आज हुन नसके भाेलि २७ ओभर ३ बलदेखि नै सुरु हुने

एसीसी मेन्स प्रिमियर कपकाे फाइनलमा नेपाल र यूएईबीचकाे खेल अहिले वर्षाका कारण राेकिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण राेकिएकाे हाे । यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाउँदा पनि खेल वर्षाका कारण राेकिएकाे थियाे । त्यसपछि सुरु भएकाे खेल फेरि वर्षाका कारण राेकिएकाे हाे ।

आज दिउँसाे ३ बजेसम्म नै पानी पर्ने सम्भावना भएकाले आज खेल सुरु हुने सम्भावना कम छ । तर दिउँसाे ३ बजेसम्म पानी राेकिएर २० ओभरसम्मकाे खेल सुरु हुन सक्ने स्थितिमा भने आजै खेल हुनेछ । आज खेल सुरु हुन नसकेमा भाेलि मङ्गलवार ‘रिजर्भ डे’ मा यूएईले यही अवस्था (२७ ओभर ३ बल– १ सय ६ रन) बाट सुरु हुनेछ ।

भाेलिकाे खेल पनि वर्षाले राेकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताकाे आधारमा विजेताकाे टुङ्गाे लाग्नेछ । एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ । यस्ताे अवस्थामा नेपाल विजेता हुनेछ र आउँदाे सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनाेट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

 

Share your love