पाकिस्तानका प्रधानमन्त्री सरिफ बेइजिङमा

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँ दुई दिने भ्रमणका लागि हिजो बेलुका चीन जानुभएको हो ।

आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा बेइजिङमा पुगेका प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको प्रधानमन्त्री भएपछि सरिफले पहिलोपटक चीनको भ्रमण गर्नुभएको हो । यो भ्रमणमा दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नुका साथै रणनीतिक सहयोग एवं साझेदारीको समीक्षा गर्ने खबरमा उल्लेख छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुग्नुभएको हो ।

सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जर्दारी पनि भ्रमणमा हुनुहुन्छ ।
 

Share your love