पर्सामा बर्षेनी सम्बन्धन विच्छेदको घटना बढ्दै

वीरगंज -पर्सामा वर्षेनी सम्बन्ध विच्छेदको घटना बढ्दो क्रममा रहेको छ । मधेसी समुदायमा विवाहिता महिला माथि हुने घरेलु हिंसा , उमेर नुपुग्दै अभिभावकको करकापमा हुने विहे र वैदेशीक रोजगारी लगायतका कारणले पर्सामा पति पत्नि बिचको सम्बन्ध विच्छेदका घटना वर्षेनी बढदै गएको पाइएको छ ।

पर्सा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०/०७१ मा ६० वटा मुद्धा मात्र दर्ता भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा भने त्यसको चार गुण बढि अर्थात २५८ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७० यता हरेक आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्धा दर्ताको संख्या निरन्तर बढ्दो क्रममा रहेको जिल्ला अदालत पर्साका रजिष्टार अरुण कोइराला बताउनुभयो ।

उहाका अनुसार , जिल्ला अदालतमा आर्थिक वर्ष २०७१/०७२ मा १३३ वटा, आर्थिक वर्ष २०७२/०७३ मा १५१ वटा, आर्थिक वर्ष २०७३/०७४ मा १७९ वटा, आर्थिक वर्ष २०७४/०७५ मा १२५ वटा, आर्थिक वर्ष ०७५/०७६ मा २२० वटा, आर्थिक वर्ष ०७६/०७७ मा १६३ वटा र आर्थिक वर्ष २०७७/०७८ मा १८३ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् ।

पर्सा जिल्ला अदालतले उपलब्ध गराएको विगत ९ वर्षको तथ्याङकले नै वर्षेनी सम्बन्ध विच्छेदको घटना बढ्दै गएको पुष्टि भएको हो ।सम्बन्ध विच्छेदका घटना बढ्नुमा कुनै एउटा विशेष कारण मात्र नभइ धेरै कारणहरु रहेको याहाका कानून व्यवसायीहरु बताएका छन ।

ती मध्ये पहिलो कारण मधेसी समुदायमा परवारकै सदस्यबाट हुने घरेलु हिंसा सम्बन्ध विच्छेदको पहिलो कारण भएको अधिवक्ता वीरेन्द्र प्रसाद यादव बताउनुभयो । अदालतमा पछिल्ला केहि वर्ष यता अदालती विवाह दर्ता भन्दा सम्बन्ध विच्छेदका मुद्धाको संख्या बढेको पनि यादव बताउनुभयो ।

यसका साथै छोराछोरीको उमेर नपुग्दै अभिभावकले करकापमा विहे गरिदिने गरेका कारण पनि पर्सामा वर्षेनी सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुदै गएको रजिष्टार कोइराला बताउनुभयो । मधेसमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुदै गएपछि एकले अर्कालाइ मन नपराउने कारणले पनि सम्बन्ध विच्छेद गर्ने प्रवृति बढ्दै गएको अधिवक्ता यादव पनि बताउनुभयो ।

वैदेशिक रोजगारीका कारण पनि पति पत्नि बिच सम्बन्ध विच्छेद हुने गरेको अदालतका श्रेस्तेदार कोइराला बताउनुभयो । बैदेशीक रोजगारीमा दुइ तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्निको आचरण माथि शंका गर्नु, पति विदेशमै रहेका बेला पत्निको परपुरुषसँग सम्बन्ध जोड्नु जस्ता कारणले गर्दा पनि सम्बन्ध बिच्छेद गर्ने दम्पतिहरुको सख्या बढदै गएको अधिवक्ता यादवको तर्क छ ।

Share your love