खैरो हिरोईन बेच्न हिडेका बहुदरमाईका हरिओमसहित खरिद गर्न आउने समेत पक्राउ

वीरगंज – खैरो हिरोईन बेच्न हिडेका पर्सा बहुरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुरका १९ बर्षीय हरिओम महत्तो सहित खरिद गर्न आउने मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा १० बस्ने २६ बर्षीय परमेश्वर साह र वडा नम्बर २५ बस्ने युगेना लामालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरीको टोलीले शंकास्पद अवस्थामा हिडिरहेका हरिओम महत्तोलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीमा लागु औषध  खैरो हिरोईन २० ग्राम फेला परेपछि उनलाई पक्राउ गरेर सोधपुछ गरिएको थियो ।

सोधपुछका क्रममा लागु औषध खरिद गर्ने साह र लामालाई पनि पक्राउ गर्न सफल भएको पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।  हरिओम महत्तोले खैरो हिरोईन खरिद गर्ने दुईजना रहेको बयान दिएपछि खटिएको प्रहरी  टोलीले खोजतलास गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्कबाट थप दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनजनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Share your love