पर्सामा प्रतिबन्धित लागूऔषधसहित तीनजना पक्राउ

पर्सामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्ध लगाइएको लागूऔषध फेन्सडिल सहित दुई र नाईट्राभेट ट्याब्लेट सहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा सोमबार राति वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ को कोनिया गाउँबाट दुईजनालाई प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिआर २२एजे २३३० नम्बरको भारतिय मोटरसाइकलमा सवार पर्सागढी नगरपालिका वडा नम्बर ६ निवासी ४० बर्षिय विजयकुमार गुप्ता र वडा नम्बर डकैलाबहुअरी निवासी ३२ बर्षिय सतिषकुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।

दुबै जनाको साथबाट फेन्सडिल १०० एमएलको १२ बोतल बरामद भएको डिएसपी गिरीले बताए । पक्राउ पर्ने विजयकुमार गुप्ता पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवलकिशोर गुप्ताका आफ्नै दाई हुन् ।

नवलकिशोर स्वतन्त्रबाट जितेका छन् । त्यसैगरी प्रतिबन्धित लागूऔषधसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल भारत प्रवेश द्वार शङ्कराचार्य गेट नजिकैबाट पनि एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बारा जितपुर सिमरा उपहमानगरपालिका वडा नम्बर १८ निवासी २५ बर्षिय जनक प्रसाद घिमिरेलाई पक्राउ गरेको हो । घिमिरेको साथबाट नाईट्राभेट ट्याब्लेट ६६ पिस बरामद भएको प्रहरीले जनाएको छ । तीनै जनालई लागूऔषध सम्बन्धि कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी गिरीले बताए

Share your love