कर्णाली प्रदेशसभाको उपसभामुख पदमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी) केन्द्रका यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकमा नेकपा(माओवादी) केन्द्रका सांसद कृष्णबहादुर जिसीले समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य न्यौपानेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गर्नुभएको प्रस्तावको पक्षमा २४ मत परेसँगै उहाँ उपसभामुखमा निर्वाचित हुनुभएको हो । प्रस्तावको विपक्षमा १४ मत खसेको थियो ।

४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा भएको मत विभाजन प्रक्रियामा ३८ सांसदहरु सहभागी हुनु भएको थियो । त्यस्तै, नेपाली काँग्रेसबाट उपसभामुख पदमा उम्मेदवारी दिनुभएकी इन्द्रकुमारी शाहीलाई नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले निर्वाचित गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

योसँगै कर्णाली प्रदेशसभाको सभामुखमा र उपसभामुख पदमा दुवै जना महिला निर्वाचित हुनुभएको छ ।