वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि आएका बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

साउन २१ गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुष यसअघि टिबी रोग भएको खुलेको र निमोनिया समेत देखिएको डाक्टर सिंहले बताउनुभयो । उनको २३ गते राति मृत्यु भएको हो ।

उनले कोभिशिल्ड दुवै डोज खोप लगाएको पनि डाक्टर सिंहले बताउनुभयो । यो बर्ष कोभिड संक्रमणका कारण मृत्यु भएको पहिलो घटना रहेको पनि डाक्टर सिंहको भनाई छ । यसैबीच वीरगन्जमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा मंगलबार गरिएको ३८ जनाको पीसीआर परीक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित हुनेहरुमा २० देखि ४३ बर्ष उमेर समूहका दुईजना पुरुष र तीनजना महिला रहेका छन् ।