नेपाल लगायत विश्वका धेरै देशमा ह्वाट्सएप डाउन

विश्वका धेरै देशहरूमा ह्वाट्सएप सेवा डाउन भएको छ। नेपालका पनि हाल ह्वाट्सएप चलेको छैन। यसबाट म्यासेज नजाने समस्या देखिएको छ। साथै भारतमा पनि यसमा समस्या आएको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

ह्वाट्सएपले काम नगरेको खबर ट्विटरमा पनि ट्रेन्डिङ भइरहेको छ । ह्वाट्सएपमा विश्वभर २ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन्।

 आज करिब साढे १२ तिरबाट ह्वाट्सएप बन्द भएको खबर बाहिरिएको थियो ।

सेवा बन्द भएको एक घण्टापछि ह्वाट्सएपको मूल कम्पनी मेटाका प्रवक्ताले भने, ‘हामीले केही व्यक्तिलाई सन्देश पठाउन समस्या भइरहेको जानकारी प्राप्त गरेका छौं। जतिसक्दो चाँडो ह्वाट्सएप सेवा ठीक गर्ने प्रयास गरिरहेका छौं।’

कम्पनीले समस्याको कारण भने खुलाएको छैन ।

गत वर्ष अक्टुबर ४ मा ६ घण्टा सेवा बन्द भएको थियो । ४ अक्टोबर २०२१ मा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्लेटफर्म करिब ६ घण्टा बन्द भएकाले अर्बौं प्रयोगकर्ताले समस्या भोग्नुपरेको थियो ।

यस बन्दको असर अमेरिकी बजारमा फेसबुकको शेयरमा पनि देखिएको थियो। कम्पनीको सेयर ६ प्रतिशतसम्म घटेको थियो। फेसबुकका विश्वभर २.८५ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन्। ह्वाट्सएपका २ अर्ब र इन्स्टाग्रामका १ अर्ब ३८ करोड प्रयोगकर्ता छन् ।

Share your love