नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता

नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा शुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले आज सम्झाैतामा हस्ताक्षर गनुभयो ।

सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीका अध्यक्ष हुईले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै पर्सि आइतवारदेखि काठमाण्डौमा शुरु हुन लागेको दुई दिने लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति देखिएकाे बताउनुभयो ।

अध्यक्ष हुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रसारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताउनुभएको थियो ।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *