नेपाली बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ केजीसम्म सुन कारोबार

काठमाण्डौ – विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ ।

तिज लागेसँगै दशैँ, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरे पनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताउनुभयो । अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताउनुभयो । उहाँले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमि भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गर्नुभयो । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताउनुभयो ।

अध्यक्ष शाक्यले दशैँपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताउनुभयो । उहाँले धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास रहेको बताउनुभयो । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखे पनि चासो नदिएको गुनासो गर्नुभयो । अध्यक्ष शाक्यले सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने बताउनुभयो ।

अध्यक्ष शाक्ले धार्मिक परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पूजा गर्ने प्रचलन रहेको बताउनुभयो । उहाँले धार्मिक आस्था अनुसार मानिसहरुको धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताउनुभयो । उहाँले धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु मनपर्ने भएकाले विशेष गरेर यो दिन धनतेरसको दिन सुनभन्दा चाँदीमा बढी बिक्री हुने बताउनुभयो । उहाँले अहिले दैनिक २ सयदेखि ३ सय किलासम्म चाँदीको कारोबार भइरहेको बताउँदै १ हजार किलोसम्म कारोबार हुने बताउनुभयो । उहाँले यस वर्ष विगतको तुलनामा कारोबार भने कम हुने बताउनुभयो ।

सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरशको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरुसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ ।

Share your love