नेपाली अर्थतन्त्रमा चुनौती भए पनि आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा

जापानकाे केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएकाे छ । काठमाण्डाैकाे दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएकाे हाे ।

१० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै पूर्वगभर्नर कुरोदाले यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको जनाउनुभयाे । ‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु, तर यहाँ आर्थिक विकसको अझै प्रचुर सम्भावना छ’, उहाँले भन्नुभयाे ।

पूर्वगभर्नर कुराेदाले नेपालको अर्थतन्त्रका तीन वटा क्षेत्रमा आफूले सम्भावना देखेको बताउनुभयाे । उहाँले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने जिकिर गर्नुभयाे । उहाँले नेपालमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयाे ।

नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्री, राजनीतिज्ञ एवम् सरोकारवालाहरूसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको उहाँले जानकारी दिनुभयाे ।

कुराेदाले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने जिकिर गर्नुभयाे । जापानमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उहाँको भनाइ छ । तर नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उहाँको तर्क छ ।

‘जापानको चालु खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ’, उहाँले भन्नुभयाे, ‘मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।’

पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुशी भएको बताउनुभयाे । उहाँले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको जनाउनुभयाे । उहाँले राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरूको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरूलाई परिचालन गर्नुपर्ने जिकिर गर्नुभयाे ।

 

Share your love