नेपालले नामिबियालाई हरायाे, एकदिवसीय क्रिकेटमा ऐतिहासिक जित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेकाे छ ।

नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले ७२, सन्दीप जाेराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकाेल लाेफ्टी–एटनले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायाे । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलकाे सामना गरेका लिगेनले ९ चाैका र ५ छक्का प्रहार गरे । एकदिवसीयमा उनकाे याे अहिलेसम्मकै व्यक्तिगत उच्च स्काेर हाे । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा साेमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।

याे एकदिवसीय क्रिकेटकाे इतिहासमा नेपालले पूरा गरेकाे सर्वाधिक ठूलाे याेगफल हाे । यसअघि नेपालले सन् २०१९ मा यूएईले दिएकाे २ सय ४४ रनको लक्ष्य ६ विकेट गुमाउँदै ४४ ओभर ४ बलमा भेटाएकाे थियाे ।

याे जितसँगै नेपाल सात देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटाैँ स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

 

Share your love