भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा इसेवामा पनि खाता खुलेको भेटियो । 

खल्ती डिजिटल वालेटमा सनम श्रेष्ठका नाममा पेस भएको नागरिकता, त्यहाँ प्रयोग भएको फोटो र वास्तविक सनम श्रेष्ठ फरक फरक पाइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

यो त प्रतिनिधि घटना भयो । कागजात एउटाको, फोटो अर्काको र नम्बर झन् अर्कैको प्रयोग गरेर डिजिटल भुक्तानी हुने क्रम बढिरहेकाले वास्तविक व्यक्तिमा रकम नगई अन्यत्रै रकमान्तर हुने क्रम बढिरहेको भन्दै प्रहरीले यसतर्फ सचेत हुन नागरिक तथा भुक्तानी प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै त्यसले विकृति पनि भित्र्याइरहेको यो दरिलो दृष्टान्त हो । प्रविधिको सही सदुपयोगले ठूलाठूला समस्या तथा कामहरू घरमै बसेर समाधान भएका कैयौँ उदाहरणहरू छन्, तर प्रविधिको दुरुपयोग हुँदा मानिसहरूको जीवन नै बर्बाद पनि बनाइरहेको छ । अझै प्रविधिकै उच्चतम उपयोग गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरूको विकासले धेरै सहज पारिदिएको पनि छ । छिनका छिन विदेशमा कमाएर पठाएको पैसा आफ्नो परिवारको हातमा आउने अवस्था बनेको छ । यसरी प्राप्त भएको सुविधालाई दुरुपयोग गरेर रकम ठग्ने गिरोह सक्रिय रहेकाले  मानिसहरू ठूलो धनराशि ठगिन विवश छन् भने गिरोहको लोभमा फसेर सयौँ मानिसहरू पीडित बनिरहेका छन् । 

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले डिजिटल अपराध बढ्दो रहेकाले यसको रोकथाममा ठूलो चुनौती खडा भएको बताउनुभयो । उहाँले भुक्तानी सेवा प्रदायक संस्थामा नक्कली कागजात पेस गरेर र अरूकै नाम, नम्बरसमेत प्रयोग गरी खाता खोलेर रकमान्तर गर्ने बढ्दो क्रममा रहेको बताउनुभयो । प्रहरी उपरीक्षक कार्कीले  यसलाई रोक्न केही दिनअघि राष्ट्र बैंकका प्रतिनिधिहरुको रोहवरमा भुक्तानी सेवा प्रदायक संस्थासँग छलफलसमेत चलाएको जानकारी दिनुभयो । छलफलमा यस्ता समस्याहरू रोकथामका लागि सरकारकै पहल जरुरी रहेको ती संस्थाका प्रतिनिधिहरूले बताएका थिए ।

काठमाडौँ प्रहरीको अभिलेखमा यो आर्थिक वर्षको पुससम्ममा यसरी नक्कली कागजातहरू पेस गरी झन्डै रु एक करोड २२ लाख ६५ हजार पाँच सय ११ रकमान्तर भई मानिस ठगिएका पाइएको छ । प्रहरीमा यसरी आफू ठगीमा परेको भन्दै एक सय १२ जनाले एक सय ३४ जनाविरुद्ध उजुरी दिएका थिए । यसअघि आव २०७८/७९ मा तीन सय ३८ जनाले एक सय ९७ जनाविरुद्ध रु चार करोड ४८ लाख ठगीमा परेको भनी उजुरी दिएका थिए । 

बैङ्कमार्फत ५९ जनाले रु ६५ लाख ४२ हजार रकमान्तर गरी ५६ जनाको रकम लगेको भनी उजुरी परेको थियो । अन्य डिजिटल वालेटहरू ई–सेवा खल्ती, आइएमई मनी ट्रान्सफर, क्यास–पे वालेट, जिएमई रेमिट, सिटी एक्सप्रेस प्रालिलगायत मार्फत यसरी रकमान्तर भएको थियो । 

आइएमई मनी ट्रान्सफरबाट मात्रै रु ३२ लाख ४१ हजार रकमान्तर भएको थियो । त्यसमा १२ जनाको पैसा १६ जनाले लगेका भनी उजुरी परेको थियो । उन्नाइस जना पीडितले ई सेवाबाट रु १३ लाख रकमान्तर भएको भनी उजुरी दिएका थिए भने खल्तीबाट २० जनाले रु सात लाख ७७ हजार रकमान्तर गरेको भनी उजुरी परेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । 

यसरी रकमान्तर भएका सबैले अर्कैको नामका नागरिकता वा राहदानीमा नक्कली फोटो टाँस्ने, नम्बरहरू पनि कम्प्युटरबाट इडिट गरेर टाँस्ने र खाता खोली रकमान्तर गर्ने गरेको पाइएको पनि उहाँले  बताउनुभयो । “खोज्दै जाँदा जुन नम्बर प्रयोग गरेर पैसा रकमान्तर भएको छ, त्यो नम्बरको मान्छेले उक्त डिजिटल वालेटमा खाता नै नखोलेको पाएको छ, कतिपय घटनामा जसको नाम र नम्बर प्रयोग गरेर रकम भुक्तानी गरिएको छ, त्यो नामको मान्छेले उक्त नम्बर प्रयोग नै नगरेको भेटिएको छ”, प्रहरी उपरीक्षक रिजालले भन्नुभयो, “डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरूमा यसरी नक्कली आइडी खोलेर रकम भुक्तानी हुने क्रम बढेकाले अपराध अनुसन्धान र कारबाहीमा समेत असर परिरहेको छ तर पनि पहिचान गरेर वास्तविक पीडकलाई कारबाही पनि  भइरहेको छ ।”

प्रहरीका अनुसार सुरुमा जो पीडित भनेर देखिएका छन् उही पीडक बनेर निस्किएका घटना पनि रहेको पाइएको छ ।  यसरी फरक फरक नागरिकतामा फरक फरक व्यक्तिका फोटा र नम्बरहरू प्रयोग गरेर पैसा भुक्तानी गर्दा नागरिक ठगिने क्रम बढिरहेकाले सचेत हुन डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग प्रहरीले अनुरोध गरेको छ । केवाइसी फारम भर्दा होस् या भुक्तानी दिँदा वास्तविक नाम र मान्छे हो होइन भनेर यकिन गरेपछि मात्रै भुक्तानी गर्नसमेत प्रहरीले ती संस्थाहरूसँग अनुरोध गरेको छ । रासस