नेपालमा स्तन क्यान्सरको जोखिम बढ्यो, पुरुष पनि प्रभावित

महिलामा स्तन क्यान्सरको समस्या बढ्दै गएको छ । महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ । सामान्य जानकारीको अभावमा थुप्रै महिलाको मृत्यु स्तन क्यान्सरबाट हुने गरेको छ । स्तन क्यान्सरबारे जानकारी दिन अक्टोबर महिनाभर विभिन्न कार्यक्रम गरी विश्वभर विश्व स्तन क्यान्सर दिवस मनाउने गरिन्छ ।

नेपालमा वर्षेनी स्तन क्यान्सरबाट करीब ५ हजार मानिस प्रभावित हुने गरेको तथ्यांक छ । जसमध्ये ११ प्रतिशत महिलाको मृत्यु हुने गरेको छ । ३० वर्ष उमेर कटेर मात्र बच्चा जन्माउने, स्तनपान नगराउने, ५० वर्ष उमेर कटे पनि महिनावारी भइरहने महिलामा स्तन क्यान्सर हुने सम्भावना उच्च रहने चिकित्सकको भनाई छ । खानपिन , जीवनशैली, मद्यपान, धुम्रपान, हर्मोनमा आउने परिवर्तन र स्तनपान नगराउने महिलामा स्तन क्यान्सरको जोखिम हुने गरेको पाइन्छ । यस्तै, १५ प्रतिशत वशांणुगत कारण यो रोग लाग्ने सम्भावना रहने क्यानसर रोग डा. अरुण शाही बताउनुहुन्छ । त्यस्तै, पछिल्लो समय पुरुषमा पनि स्तन क्यान्सरको समस्या देखिन लागेको छ ।

किशोर उमेरदेखि नै स्तन क्यान्सरको जोखिम रहन्छ । उमेर बढ्दै जाँदा यो समस्या बढ्ने सम्भावना उच्च रहन्छ । स्तनमा क्यान्सर सुरु भएको ९ महिनादेखि १ वर्षभित्र नै चौथो चरणमा प्रवेश गर्ने खतरा रहन्छ । स्तनको आकारमा परिवर्तन, गिर्खा आउने जस्ता लक्षण देखा पर्नासाथ चिकित्सकको परामर्श लिने हो क्यान्सर निको हुने चिकित्सक बताउँछन् । तेस्रो चरण सम्मको स्तन क्यान्सर पूर्ण रुपमा निको हुने गर्दछ । चौथो चरणमा क्यान्सर स्तनमा मात्र नभई शरीरको अन्य स्थानमा समेत फैलने हुँदा विरामीलाई पूर्ण सन्चो गराउन कठिन हुन्छ । सन्तुलित भोजन, आफनो स्तन आफैं परीक्षण र समय समयमा चिकित्सकसँगको परामर्श यसबाट बच्ने सकिने डा. शाही बताउनुहुन्छ ।

क्यान्सर लागेपछि मृत्यु नै हुन्छ भन्ने भयका कारण अस्पताल नै नजाने कारणले पनि कति महिलाको ज्यान जाने गर्दछ । क्यान्सरबारे जनचेतनाको अभाव हुँदा वर्षैनी नेपालमा धेरै महिलाले ज्यान गुमाएका छन् ।

Share your love