निलम्बित प्रधानन्यायाधीश जबराद्वारा महाअभियोग सिफारिस समितिमाथि नै निष्पक्षताको प्रश्न

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिएको छ ।

बयानका क्रममा राणाले महाअभियोग सिफारिस समिति तथा सांसदहरू माथि नै निष्पक्षताको प्रश्न उठाउनुभएको समितिका सदस्य एवं सांसद रेखा शर्माले जानकारी दिनुभयो ।

सांसद शर्माका अनुसार आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेकाले जबराले निष्पक्षताको प्रश्न उठाउनुभएको हो ।

जबराले समितिको नियमावलीबारे पनि प्रश्न उठाउनुभएको सांसद शर्माले बताउनुभयो ।

समितिले तयार गरेको ४३ वटा प्रश्नमध्ये आज २ वटा प्रश्नमा  मात्रै जबरासँग आज बयान लिइएको छ ।

बैठकमा सहभागी समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक मीन  विश्वकर्माले संसदले महाअभियोग लगाएको व्यक्तिले बयानका क्रममा आज व्यक्त गरेको अभिव्यक्तिलाई समितिले सामान्य रुपमा लिएको बताउनुभयो ।

आज बयानमा सोधिएका प्रश्नहरू व्याख्यात्मक  रहेको र जबराको जवाफमा प्रतिप्रश्न  गर्दा बैठक लम्बिएको कांग्रेस नेता विश्वकर्माले जानकारी दिनुभयो ।

जबरालाई बयानका लागि भदौ १९ गते पुनः  बोलाइएको छ ।

समितिको कार्यतालिका अनुसार भदौ १८ गते प्रतिवेदन  बुझाउनुपर्ने कार्यसूची रहेकोमा बैठक लम्बिएकाले कार्यतालिकाबारे कानूनी परामर्श गरेर अगाडि बढ्ने सांसद रेखा शर्माले बताउनुभयो ।

Share your love