निर्वाचनमा कांग्रेसले ८० बढी सिट जित्ने प्रवक्ता महतकाे दावी

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी सरकारको नेतृत्वका लागि कांग्रेसको स्वभाविक दावी रहने बताउनुभएकाे छ । आज शनिबार प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

प्रवक्ता महतले गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक भएकाे बताउनुभएकाे हाे । प्रधानमन्त्रीकाे लागि गठबन्धनका दलहरुबीच खासै छलफल नभएको बताउँदै उहाँले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पष्ट पार्नुभयाे ।

सबै भन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको उहाँले बताउनुभयाे । एउटै दलले बहुमत ल्याउन कठिन भएकाले कांग्रेसले ८० भन्दा बढी सिट जित्ने दावी समेत गर्नुभयाे । गठबन्धनले बहुमत ल्याउने समेत दावी गर्नुभएकाे छ । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै सपना बाडेकाे बताउनुभयाे । तर ओलीले काम भने नगरेको उहाँले आरोप समेत लगाउनुभएकाे छ ।

रेल ल्याउने, पानी जहाज चलाउने, घरघरमा ग्याँस ल्याउने भन्दै सपना बाडेको तर काम नगरेको उहाँको भनाइ थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा थुप्रै विकासका कामहरू गरेको उहाँले दावी गर्नुभएकाे छ । आगामी सरकारले मुलुकमा स्थिरता दिने र रोजगारी सिर्जना गर्नेमा विश्वस्त रहन समेत उहाँले आग्रह गर्नुभएकाे छ ।

कांग्रेसले ६८ वर्षमा वृद्ध भत्ता दिएको र अब ६५ वर्षमा नै भत्ता दिने लक्ष्य रहेको उहाँकाे भनाइ छ ।

Share your love