नागरिककाे विश्वासमा ठेस लाग्न दिन्नँ : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे पाँच वर्षमा नागरिककाे विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाउनुभएकाे छ । आज साेमवार प्रतिनिधि सभाकाे पहिलाे बैठकमा बाेल्दै सभापति देउवाले नेपाली कांग्रेस नागरिककाे अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्न बताउनुभयो ।

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको बताउनुभयो ।

सभापति देउवाले लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व रहेको र प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुने अपेक्षा गरेको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । यसका लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक छ । संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी छ । प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुन सकोस् ।’

 

Share your love