धनुषामा लागुऔषधसहित दुई जना पक्राउ

धनुषामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–४ मखना बस्ने ३४ वर्षीय खालिल राइन र गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजार बस्ने २७ वर्षीय गुड्डु आलम रहेका छन् ।

विदेह नगरपालिका–१ महिनाथपुरमा रहेकाे महिनाथपुर नाकामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट महिनाथपुरको टोली र प्रहरी चौकी ठाडीबाट नेपाल प्रहरी सहितको संयुक्त टोलीले भारतबाट नेपाल आउँदै गरेका दुवैजनालाई चेकजाँचको क्रममा पक्राउ गरेको हाे ।

प्रदेश–२–०२–००४प ६३१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खालिलले लगाएको हाफ ज्याकेटभित्र कालो प्लाष्टिकको झोलामा लुकाइ राखेको अवस्थामा डाइजेपाम इन्जेक्सन ७५ वटा (प्रति इन्जेक्सन २ एमएल), फेनारगन इन्जेक्सन ७० वटा ( प्रति इन्जेक्सन २ एमएल) र आई पीपी एल ईन्जेक्सन ७५ वटा (प्रति इन्जेक्सन २ एमएल) बरामद भएको सशस्त्र प्रहरी ८ नम्बर गण हेडक्वाटर धनुषाले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको छ।

 

Share your love