नवलपुरमा यातायातकाे अभावका कारण सुन्तलाले बजार पाएन

यातायातको पहुँच नहुँदा यो वर्ष नवलपुरका पहाडी क्षेत्रमा उत्पादन भएका सुन्तलाले बजार लिन सकेनन् ।

नवलपुरको बौदीकाली गाउँपालिका-५ बबकमा उत्पादन भएका २५ देखि ३० क्विन्टल सुन्ताला बजारसम्म पुर्याउन नसक्दा कृषकहरूले ठूलो नोक्सान व्यहोर्नु परेको बताएका हुन् । पहाडी भेगमा अझै सहज तरिकाले यातायाता पुग्न नसक्दा सुन्तला उत्पादन गरेका कृषकहरू मर्कामा परेका छन् । बबकका ६२ घरधुरीले नै सुन्तला खेती गर्छन् ।

सुन्तला उत्पादन राम्रो भएको भएपनि यो वर्ष कृषकले समयमा बजार पुर्याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरूले गुनासो गरेका छन । उत्पादनको हिसाबले नवलपुरको सुन्तला स्थानीय बजार समेत धान्न नसक्ने गरी धेरै मात्रामा सुन्तला उत्पादन हुन्छ । तर उत्पादन भएका सुन्तला यातायात समस्याकै कारण ठूला बजारमा खपत हुन नसक्दा कृषकले गरेको मिहनत खेर गएको छ ।

सुन्तला उत्पादन गरेका कृषकहरूलाई बाटो मात्र बाधा बनेको छैन उनीहरूका लागि बजार भाउ पनि अर्को समस्याको विषय बनेको छ । कृषकहरूले उत्पादन गरेको सुन्तलाको आफ्नो मूल्यमा बेच्न पाएका छैनन् । सुन्तलाको मूल्य व्यवसायीहरूले नै तोक्दा सोचे जति मूल्य समेत पाउन नसकेको गुनासो गरेका छन् । बबकका स्थानीयको आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला खेती हो ।

सुन्तलाको बजारीकरण हुन नसक्दा यो सिजनमा व्यवसाय नै धराशायी बन्न पुगेको छ ।

Share your love