नागरिक उन्मुक्ति पार्टी : ‘डेब्यु’ मै ४ सिट जित

दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रूपमा प्रस्तुत भएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको यस दलले यहाँ पाँच वटा प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ ।

गएको पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा यस राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले चुनावमा थारु बाहुल्यता रहेको क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको हो । ढकिया चुनाव चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गरेको यस दलले यहाँका प्रदेश सभाका धेरैजसो निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । कैलालीमा मात्रै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ ८७ हजार १२ मत र प्रतिनिधि सभा सदस्यतर्फ ८१ हजार छ सय २८ मत प्राप्त गरेको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत राजेश चौधरीले बताउनुभयो ।

उहाँका अनुसार समानुपातिकतर्फको नतिजा अझै आउने क्रममा छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो ।

जिल्लाको प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र १, २ र ३ जितेको यस पार्टीले सुदूरपश्चिममा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ र २ मा समेत आफ्नो प्रभाव देखाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ मा पार्टी अध्यक्षसमेत रहनुभएकी उम्मेदवार रञ्जिताले प्रतिनिधि सभा सदस्यमा जित्दा त्यही क्षेत्रमा रहेको प्रदेश सभा सदस्यका लागि क्षेत्र नं १ (क) मा कैलाश चौधरी र क्षेत्र नं २ (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित हुनुभएको छ भने त्यस क्षेत्रको प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ (ख) मा यही पार्टीका रामेश्वर चौधरी निर्वाचित हुनुभएको छ ।

त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं ३ मा पनि उन्मुक्ति पार्टीले नै कब्जा जमायो । यहाँ प्रतिनिधि सभातर्फ गङ्गा चौधरी निर्वाचित हुनुभयो भने प्रदेश सभातर्फ क्षेत्र नं १ (क) मा घनश्याम चौधरी र २ (ख) मा खुसीराम चौधरी विजयी हुनुभयो । पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूलो दल नेकपा (एमाले) को जित शून्य हुँदा सत्ता गठबन्धनबाट कांग्रेसका दुई उम्मेदवार यहाँ निर्वाचित भए ।

निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गा चौधरीले आफ्नो पार्टीले गरेको अपेक्षाअनुसार नै नतिजा आएको बताउनुभयो । ‘नयाँ पार्टी भए पनि हाम्रो ४५ जिल्लामा उम्मेदवारी थियो’, उहाँले भन्नुभयो, ‘जसमध्ये कैलालीमा तीन र बर्दियामा एक गरी चार सिट जित्न सफल भयौँ ।’ उहाँले प्रदेश सभातर्फ कैलालीमा पाँच र बर्दियामा दुई गरी सात क्षेत्रमा जितेको बताउनुभयो ।

‘अब पार्टी सङ्गठन विस्तार र संरचना निर्माणमा पनि हामी जोड दिँदै जान्छौँ’, निर्वाचित सदस्य चौधरीले भन्नुभयो, ‘डेब्युमै नतिजा राम्रो आउँदा हामी उत्साहित छौँ ।’ गएको वैशाखमा सम्पन्न पालिका चुनावमा कैलालीमा नागरिक उन्मुिक्त पार्टी दोस्रो ठूलो दल बनेको थियो । यहाँका १३ वटा पालिकामध्ये पालिका चुनावमा यस पार्टीले चार वटा पालिकामा जितेको थियो । कञ्चनपुरमा प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ (क) मा पल्टु राना र २ (ख) मा काली चौधरी उम्मेदवार थिए । यहाँ काली चौधरीले भने पाँच हजार पाँच सय १७ मत ल्याउनुभएको थियो ।

यहाँको निर्वाचन क्षेत्र नंं २ (क) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गीता चौधरीले पाँच हजार एक सय ५३ मत ल्याउनुभयो ।

 

Share your love