नयाँ सरकार गठनका लागि ठूला दलहरू मिलेर अघि बढौँ : दुर्लभ थापा

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद थापाले ठूला दलहरूले नयाँ सरकार गठनबारे एक ठाउँमा उभिएर बहस गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालले बुधवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाकाे भनाइ थियो ।

उहाँले भन्नुभयो,  ‘जनादेश विपरीत जाने दलहरू समाप्त हुनेछन् । हामीले गल्ती गरेकाले जनताले दलहरूको विकल्प खोजेका हुन् । जनताले दिएको म्यान्डेट अनुसार अघि बढौँ । विशेषगरि मूलधारका राजनीतिक दलहरू एक ठाउँमा बसौँ । सरकारको बारेमा छलफल गरौँ, बहस गरौँ । प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौँ । अब संविधानमा कतै संशोधन गर्नुपर्ने हुन सक्छ । संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिबद्धता जाहेर गर्नुपर्दछ जस्तो मलाई लाग्दछ ।’

त्यस अवसरमा कांग्रेस सांसद थापाले सबै राजनीतिक दलसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजनासमेत सार्वजनिक गर्नुभयो । उहाँले भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढतासमेत व्यक्त गर्नुभयो ।

 

Share your love