देशभर विकास र समृद्धिकाे सन्देश दिने मेरो सङ्कल्प छ : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शनिवार शिलान्यास गर्दै अध्यक्ष दाहालले सङ्कल्पमा नागरिकको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । नागरिकको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।’ भूमिगत विद्युतीकरणले नागरिकको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उहाँको भनाइ थियो ।

भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ । ठेक्काको रकम दुई अर्ब ५० करोड रुपैयाँ हाराहारी रहेको आयोजनाले जनाएको छ ।

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभीएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ । सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

Share your love