देशभर बदली भएर धेरै ठाउँमा पानी पर्दै, अहिले रोकिएका ठाउँमा पनि फेरि पानी पर्ने सम्भावना

अहिले काठमाण्डौ उपत्यकासहित आसपासका केही ठाउँमा पानी रोकिए पनि अझै दुईरतीन दिन वर्षा हुने मौसमविद्ले बताएका छन् ।

आज बुधवार बिहान पानी आएको काठमाण्डौसहित पूर्वका जिल्लाहरूमा दिउँसो पानी रोकिएको छ । तर केहीबेरमा फेरि पानी पर्नसक्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरे पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा ठूलो वर्षादेखि अति भारी वर्षाको सम्भावना छ ।

पछिल्लो दुई दिनयता मौसम बदली भएर देशभर वर्षा भएको छ । बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा असर गरिरहेको मौसमविद् कँडेलले बताउनुभयो ।

वर्षाको लहर पूर्वबाट गण्डकी, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिम प्रदेशसम्म पनि पुगिसकेको छ । धेरै ठाउँमा आज दिनभर वर्षा हुन्छ भने केही ठाउँमा भारी वर्षाको सम्भावना छ । आज बेलुकीदेखि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । अबको तीन दिन मौसममा सुधार हुने सम्भावना कम रहेको भन्दै हिँडडुल गर्दा र खेतीबाली भित्र्याउँदा सावधानी अपनाउन उहाँको आग्रह छ ।

अक्टोबर २ सम्म मनसुनी प्रभाव रहने औसत समय रहेकाले त्यसभन्दा तीन दिन ढिला आजसम्म नेपालमा मनसुन कायमै रहेको छ ।

यसैबीच बाँकेमा पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूलाई आज बेलुकासम्म नै उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरिएको छ । राप्ती, बबई र नारायणी नदी बेसिन क्षेत्रमा धेरै पनि परेकोले प्यूठान, दाङ, स्याङ्जा, कास्की र आसपासका क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

Share your love