अनाथ बालबालिकाको दसैँ : न कोही भेट्न आउछन्, न कोही लिन

दशैका बेला बालबालिकाहरू विशेष रुपमा रमाउने गर्छन् । नयाँ लुगा लगाउने, खसी काटेर मासु भात खाने, चंगा उडाउने, मामाघर जाने, टिका जमरा लगाउने र दक्षिणा जम्मा गर्ने हरेक बालबालिकाको रहर हुने गर्छ तर अभिभावक गुमाएर बालमन्दीरमा आइपुगेका बालबालिकाले  दसैँ सामूहिक रुपमा मनाउँदै छन् ।

नक्साल बालमन्दीरकी व्यवस्थी शाही दरबार हाइस्कुलमा कक्षा ६ मा पढ्नुहुन्छ । व्यवस्थीलाई कहिले कहाँबाट कसरी  बलमन्दीर आइपुगेँ ? भन्ने थाहा छैन । त्यसो त उहाँका कोही आफन्त पनि छैनन् ।  व्यवस्थी बालमन्दीरमा साथीहरुसँग खेलेर दसैँ मनाउने तरखरमा हुनुहुन्छ । उहाँ बाल मन्दिरमा आमाहरूले नयाँ लुगा किनिदिएको र टिकाको दिन टिका लगाएर दक्षिणा दिने गरेको बताउनुहुन्छ ।

बलमन्दीर अनाथ बालबालिकाको घर बनेको छ । त्यही घरमा वर्षौंदेखि बस्दै आएका बालबालिकाले बाआमालाई मन लागेको कुरा किनिदेऊ भन्न, घुम्न जान, आफूलाई मन लागेको गर्न पाउँदैनन् । थानकोट पिपलाबोटबाट आफन्त गुमाएर बालमन्दीर आइपुग्नुभएकी सुमी बैजु परिवारसँग रमाइलो गरी दसैँ मनाएको स्मरण गर्नुहुन्छ । दरबार हाइस्कुलमै कक्षा ६ मा पढ्नुहुने उहाँ गाउँघरको दसैँ रमाइलो हुने र बाध्यताले बलमन्दीरमा मनाइने दसैँ  पनि रमाइलो नै हुने बताउनुहुन्छ ।

बालमन्दीर केन्द्रीय कार्यालय नक्साल, सिफल, भक्तपुर, पाँचखाल, दोलखा, भिमफेदी, म्याग्दी, कपिलबस्तु र सर्लाही गरी साँढे तीन सय अनाथ बालबालिका छन् । ती बालबालिकालाई दशैको बेला खुसी पार्न नयाँ लुगा किनिदिनेदेखि खसी काट्ने र मन्दिर घुम्न लैजाने गरिन्छ ।  दसैँ नारी पुजनको पर्व पनि हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दीरकै नौ जना नानीहरूलाई नव दुर्गा पुजाका लागि बोलाउनुभएको छ । यसपालि बालबालिकाले घुम्न लैजान पनि भनेका छन् नेपाल बालसंगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपाने नजिकको मन्दिर दर्शन गराउनु लैजाने बताउनुहुन्छ । उहाँले सबैभन्दा पहिला तिनै बालबालिकालाई टिक लगाएर दक्षिणा दिएपछि मात्रै आफूले टिका लगाउने गर्नुभएको छ ।

बालमन्दीरमा भरखर जन्मिएका शिशुदेखि स्कुले उमेरका  बालबालिका छन् । सडकमा अलपत्र परेका, छोरी भनेर बाआमाले जन्मनासाथ अस्पतालमै छोडेर गएका, जन्माएर खोला किनारामा फालिएका देखि आफन्त गुमाएका बालबालिकाहरूको मन्दिर हो बाल मन्दिर । त्यही मन्दी रमा सामूहिक रुपमा रमाइरहेका बालबालिकाका आफन्त कोही छैनन् । न उनीहरुलाई दसैँमा घर जाउन् भन्न कोही आउँछन् भने न केही टिका लगाइदिन नै आउँछन् । उनीहरूको साथमा  मात्रै राज्य  छ  र त उनीहरूले भविष्यको सुन्दर सपना देख्न पाएका छन् । तिनै सपना देख्ने बालबालिका प्रत्येक चाडवाड सामूहिक रूपमै रमाउँछन् र यो दसैँमा पनि त्यसरी नै रमाउने कोसिस गरिरहेका छन् ।

Share your love