तीन वटै निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवारलाई महिलाकाे चुनाैती

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि दाङमा ८ जना महिला उम्मेदवार छन् । त्यसमा पनि दाङका  तीन वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा महिला मुख्य प्रतिस्पर्धामा छन् । विकास निर्माणसँगै महिलाका सवाल उनीहरुका मुख्य चुनावी एजेन्डा रहेका छन् ।

दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले)की शान्ता चौधरी, क्षेत्र नं २ मा गठबन्धनबाट नेकपा माओवादीको रेखा शर्मा र क्षेत्र नं ३ मा एमालेकी कोमल वली पुरुष उम्मेदवारसँग प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं १ मा एमालेकी शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ  । घोराही उपमहानगरपालिका–४ डाँडागाउँकी चौधरी पूर्व कमलरी हुनुहुन्छ । चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजकसमेत हुनुभएकाे थियाे । उहाँले कमलरी र गरिब किसानका हकअधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

यो क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी सत्गौवा पनि चुनावी मैदानमा हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिनु भएको छ । दाङ क्षेत्र नम्बर १ मा ५ महिला प्रतिस्पर्धामा छन्। देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र न १ मा पर्दछ।

दाङ क्षेत्र नं १ मा ७० हजार दुई सय ६७ र ९२० मा ६४ हजार चार सय ६६ मतदाता छन् । क्षेत्र नं (क)मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ। क्षेत्र नं १ (ख) मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नं १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनु भयो ।

क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि  सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा र एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल चुनावी मैदानमा हुनुहुन्छ ।

यो क्षेत्रमा नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा छन् । क्षेत्र नं २ (क)मा ६३ हजार तीन सय २२ मतदाता तथा २५ मतदानस्थल र ६८ मतदान केन्द्र छन् । क्षेत्र नं (ख)मा ७० हजार चार सय २६ मतदाता र २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएका छन् ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा हुनुहुन्छ । दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ । पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा चुनावमा दाङ क्षेत्र नं ३ बाट समानुपातिक सांसद चुनिनु भएको थियो । क्षेत्र नं ३ मा प्रतिनिधि सभातर्फ महिला उम्मेदवार वली मात्रै हुनुहुन्छ ।

क्षेत्र नं ३ (१) मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नं ३ (२) मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

 

Share your love