चुनाव बहिस्कार गर्ने वीरगंजका एकजना प्रहरीको नियन्त्रणमा

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कारको कार्यक्रम गरिरहेका वीरगंजका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय विर्ताले चुनाव बहिस्कारको कार्यक्रम  गर्ने वीरगंज महानगरपालिका वडा नम्बर १ बजार छपकैया बस्ने लालबाबु साह कानुलाई नियन्त्रणमा लिएको विर्ताका प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।

प्रहरी निरीक्षक मल्लका अनुसार लालबाबु साह कानु वीरगंजको घडीअर्वा पोखरीको ३ नम्बर प्रवेशद्वार नजिकै ब्यानर लगाएर निर्वाचन बिपरित चुनाव बहिस्कारको कार्यक्रम गरेको हुदा नियन्त्रणमा लिईएको हो ।

उनले हिन्दु राष्ट्र कायमको माग गर्नुको साथै राष्ट्रिय जनावर गाईको संरक्षण गर्नको लागी माग राखेका छन । गाईको मासु खानेलाई जन्म कैदको सजाय गर्नुपर्ने कानुको माग छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका शीर्ष नेताहरुको टाउकोमा जनावरको टाउको जोडेर ब्यानर बनाई निर्वाचन विरोधी गतिविधि गरेको हुदा नियन्त्रणमा लिइएको वडा प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

निर्वाचनविरोधी गतिविधि नगर्ने शर्तमा छोड्न सकिने मल्लको भनाई छ ।

Share your love