ताप्लेजुङ म्याराथनको उपाधि कुँवरलाई

ताप्लेजुङ–पाथीभरा म्याराथन दौडको उपाधि दलबहादुर कुँवरले जितेका छन् । दौडमा सहभागी एक सय ३४ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दुरी चार घण्टा १२ मिनेट २७ सेकेन्डमा पार गरेर कुँवर विजयी भएका हुन् । कुँवरले नगद एक लाख ५१ हजार एक सय ५१ रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

दौडमा त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट दोस्रो भएका छन् । उनले चार घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । भाटले एक लाख एक हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै निर्धारित दुरी चार घण्टा १२ मिनेट ५८ सेकेन्डमा पार गर्दै राजन मेयोङबा तेस्रो भएका छन् । उनले ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै पाथीभरा महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ की साम्पाल्मु शेर्पाले जितेकी छिन् । निर्धारित २१ किलोमिटर दुरी शेर्पाले तीन घण्टा ४१ मिनेट नौ सेकेन्डमा पार गर्दै प्रथम भएकी हुन् । शेर्पाले ८१ हजार एक सय ११ रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गरेकी छन् ।

यस्तै भोजपुरकी छेम्बिमाया राई दोस्रो भएकी छन् । उनले चार घण्टा नौ मिनेटमा दुरी पार गर्दै ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेकी छिन् । त्यस्तै मिक्वाखोला गाउँपालिका ३ लिबाङकी १६ वर्षकी पेम्बालामु शेर्पा तेस्रो भइन् । उनले चार घण्टा ३१ मिनेट ५४ सेकेन्डमा दुरी पार गर्दै ३१ हजार एक सय ११ रुपैयाँ प्राप्त गरिन् ।

ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको तेस्रो दिन आज म्याराथन भएको हो ।

 

Share your love