तनहुँ–१ मा कांग्रेसकै जित सुनिश्चित छ : गाेविन्द भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपचुनावमा उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले विगतमा झैँ यस पटक पनि कांग्रेस नै विजयी हुने बताउनुभएको हो । उहाँले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो । विगतमा प्राप्त मतभन्दा बढी मतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरू भाषणमात्रै गर्छन्, मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरूबाट नै मैले चुनाव जित्नेछु ।’

नेता भट्टराईले गठबन्धनका दलहरू एक भएर चुनावमा प्रतिस्पर्धा गर्ने पनि बताउनुभयाे ।

 

Share your love