टिआरसी विधेयक संसद्‌को चालु अधिवेशनबाटै पारित हुने

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई संसद्‌को चालु अधिवेशनबाटै पास गर्ने बताएका छन्।

आइतबार काठमाडौँमा १४ औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाललगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडोभन्दा चाँडो निस्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनले चालु अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरु सधैँका लागि निष्कर्षमा पुर्‍याइने बताए। प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानुन तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल सुरु हुने बताए।

उनले भने, ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ। संसदबाट हामीले समितिमा पठाएका छौँ। समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ। यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ। हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ।

बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाललगायतका जति पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र यो विधेयक छन्, चाँडोभन्दा चाँडो, हामी त्यसलाई टुंगोमा पुर्‍याउने छौँ। जहाँसम्म मलाई लाग्छ, हामी यही अधिवेशनबाट यो विधेयक पास गरी यो विषय हामी सधैँका लागि राम्रोसँग सम्पादन गरी निष्कर्षमा पुर्‍याउने छौँ।’-देश सञ्चार

Share your love