झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु

झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अनौपचारिकरूपमा हिजो मङ्गलवारदेखि नै सामान निर्यात सुरु भए पनि आज बुधवार औपचारिक कार्यक्रम नै गरेर सामान निर्यात सुरु भएको नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।

नेपाली सामानले भरिएका छ वटा कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएको दूतावासले उल्लेख गरेको छ । आजदेखि औपचारिकरूपमै रसुवागढीबाट केरुङ हुँदै सामान निर्यात सुरु भएको ल्हासाका महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो । हिजो ५० लाख नेपाली रुपैयाँ बराबरका सामान बाेकेकाे आठ वटा कन्टेनर चीन गएकाे रसुवा भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी नाका भएर मैदा, बेसार, खुर्सानी, बाँसका मुढा, कुचो, हस्तकलालगायत एक सय ८३ वटाभन्दा बढी प्रकारका सामग्री चीन निर्यात हुँदै आएका छन् ।

चीनले कोरोना महामारीलाई देखाएर नेपाली सामान रोक्नुका साथै चीनबाट नेपालमा हुने आयातमा पनि कडाइ गर्दै आएको थियो । नयाँ सरकार गठन हुनेबित्तिकै चीनले नेपाली सामान खुला गर्नुलाई अर्थपूर्णरूपमा लिइएको छ ।

Share your love