जंगी अड्डामा सुरु भयो सेनाको पृतनापति समन्वयात्मक बैठक

नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७९’ जंगी अड्डामा आइतबारदेखि सुरु भएको छ ।
आठवटै पृतनाका पृतनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिहरुको उपस्थिति रहेको उक्त दुई दिने समन्वयात्मक बैठकमा सहभागीहरुले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरु प्रस्तुत गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बैठकको उद्घाटन गर्दै रक्षामन्त्री हरि प्रसाद उप्रेतीले २६० वर्षको गर्विलो ईतिहास बोकेको नेपाली सेनाले आफूलाई प्राप्त राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी अनुकरणीय रुपमा सम्पादन गर्दै आएको भन्दै प्रशंशा गरे ।
उनले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता एवं राष्ट्रिय एकताको संरक्षण तथा सम्वर्द्धन गर्ने गहन जिम्मेवारी प्राप्त नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायहरुसँग प्रभावकारी सम्बन्ध कायम गर्दै भावी चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन अत्यन्तै प्रशंसनीय ढंगले गर्दै आइरहेको  पनि बताए।

यस्तै कोभिड १९ महामारी लगायत विभिन्न विपद्को दौरानमा सेनाले अग्रपंक्तिमा खटिई अभूतपूर्व काम गरेको पनि उनको भनाइ थियो । रक्षामन्त्रीले नेपाली सेनाको दीर्घकालीन सोच–२०८७, नेपाली सेनाको सांगठनिक पुनर्संरचना२०७८, नेपाली सेनाको सांगठनिक पुनर्संरचना–२०७८ (परिमार्जित), राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन योजना लगायत अन्य मार्गनिर्देशक दस्तावेजहरु बमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले समन्वय गर्नेपनि सो क्रममा उल्लेख गरे ।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता एवं राष्ट्रिय एकता कायम गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी भएको बताए । उनले  सैनिक अपरेशनहरुमा सकलदर्जाको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप आन्तरिक एवं विदेशी सेनासँग सहकार्य गरी विभिन्न तालिमहरु सञ्चालन भईरहेको समेत उल्लेख गरे । आज आयोजित समुद्‍घाटन कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा लगायत रक्षा मन्त्रालयका अधिकारीहरुसमेत सहभागी रहेको सेनाले जनाएको छ ।

Share your love