चोलेन्द्रशमशेरबारे सर्वोच्चमा पठाएकाे पत्र सही भएकाे संसद सचिवालयको जिकिर

संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार सर्वोच्चलाई जवाफ पठाएका हुन्। स्रोतका अनुसार सर्वोच्चलाई पठाइएको जवाफमा जबराको निलम्बन निष्प्रभावी भएको पत्र सही भएको तर्क गरिएको छ।

महासचिव गौतमले गत मंसिर २१ गते जबराको निलम्बन निष्प्रभावी भएको पत्र पठाएका थिए। गौतमको उक्त पत्रविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले मंसिर २३ गते पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो। साथै सर्वोच्चले संसद सचिवालयका नाममा कारण देखाऊ आदेशसमेत दिएको थियो।

त्यसअघि मंसिर २१ गते सर्वोच्चको फुलकोर्ट बैठकले उक्त पत्रको कानुनी आधारबारे पश्न गर्दै संसद सचिवालयलाई पत्र पठाएको थियो। त्यसको जवाफमा महासचिव गौतमले फुलकोर्ट बैठकले सोधेका प्रश्नको जवाफ र अन्तरिम आदेशको जवाफ एकै पटक दिने भन्दै मंसिर २५ गते सर्वोच्चलाई पत्र पठाएका थिए। जबराले भने मंसिर २७ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन्।

Share your love