चुनावको सम्पूर्ण तयारी पूरा : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको हो ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले स्थिर समयमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि चुनाव अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चलन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने गरी व्यवस्था गरेको समेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले प्रत्याभूत गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने गरी व्यवस्था गरेको छ । आयोगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकुल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रवन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरु र तोकिएका अधिकारीहरुलाई आग्रह गर्दछु ।’

 

Share your love