ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो

कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्लामा चामल ढुवानी हुन नसकेको हो ।

सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्याउने भनिएको चामल ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन ।

तीन हजार पाँच सय क्विन्टलमध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पुर्याउने लक्ष्य रहेको छ । त्यसका लागि गएको भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको प्रमुख लामिछानेले जानकारी दिनुभयो । त्यसपछि पुनः टेण्डर आह्वान गर्दा प्रक्रियामै धेरै समय लागेको छ ।

दोस्रो पटक आह्वान गरिएको टेण्डरमा तारा एअरले ढुवानी गर्न पाउने ठेक्का परेको भए पनि सम्झौता गर्न आएको छैन । सम्झौताका लागि यही मङ्सिर २० गतेसम्मको समय तोकिएको छ । सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा भने एलबी सप्लायर्स हुम्लाले पाएको छ । तर, सप्लायर्सले अझै ढुवानी गरेको छैन ।

 

Share your love