चुनावकाे दिन यस्ताे रहनेछ माैसम

चुनाव हुने दिन मङ्सिर ४ गते देशका धेरैजसो ठाउँको मौसम सफा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव २०७९ का लागि प्रारम्भिक मौसम पूर्वानुमान विवरण सार्वजनिक गर्दै मङ्सिर ४ गते धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको हो ।

मतदानको दिन प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि वर्षा तथा हिमपातको सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।

चुनावका लागि कर्मचारी खटिने क्रम सुरु भएको छ । आउँदाे शुक्रवार र शनिवार मतदानस्थलमा बैठक, मतदान केन्द्र बनाउने लगायतका महत्त्वपूर्ण कामहरू हुन्छन् । मङ्सिर २ गते र ३ गते अर्थात् शुक्रवार र शनिवार प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हिमपातको सम्भावना छ । देशका बाँकी ठाउँको मौसम भने सफा रहनेछ ।

Share your love