घरेलु हिंसा न्यूनीकरण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।

राष्ट्रिय महिला आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले  घरेलु हिंसा पीडितलाई न्याय दिन र पीडकलाई कानूनी दायरामा ल्याउन स्थानीय सरकारले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णाकुमारी खतिवडाले विगतमा खारेज गरिएका महिलासँग सम्बन्धित संस्थागत संरचनाहरू पुनः खडा गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला अधिकारकर्मी रत्नकाजी महर्जनले प्रत्येक घरमा महिलाहरूले कुनै न कुनै किसिमले हिंसा भोग्नुपरेको उल्लेख गर्दै न्याय नपाइने भनेर उनीहरू मौन बस्ने गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा अधिवक्ता ठाकुरराम शर्माले महिलामाथि हुने हिंसा कम गर्न विद्यमान कानूनमा सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल प्रहरी तथा महिला अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।